नेपालगञ्ज ।बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित राप्ती नदीमा शनिवार कृत्रिम घटना अभ्यास सञ्चालन कार्यविधि बमोजिम बाढी पूर्वानुमानमा आधारित कृत्रिम घटना अभ्यास गरिएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण र राप्तीसोनारी गाउँपालिका बाँकेको आयोजना तथा विभिन्न दातृ निकाय संस्थाको सहयोग तथा समन्वयमा राप्तीसोनारी गाउँपालिका–३ कमैयावस्ती नजिक राप्ती नदीमा कृत्रिम घटना अभ्यास गरिएको हो ।
बाढीको बेला हुनसक्ने खतरा र त्यसको प्रभावकारी खोज तथा उद्धारमा प्रयोग हुने उद्धार सामग्री र जनशक्तिको अद्यावधिक तथा पुनर्ताजगीका लागि खोज तथा उद्धारकार्यलाई प्रभावकारी बनाउने उद्देश्यका साथ राप्ती नदीमा बाढी कृत्रिम घटना अभ्यास कार्यक्रम आयोजना गरिएको राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्त पौडेलले बताउनुभयो ।
उहाँले कृत्रिम घटना अभ्यास सञ्चालन कार्यविधि–२०८३ बमोजिम नेपालमै पहिलो पटक राप्तीसोनारी गाउँपालिकामा बाढी कृत्रिम घटना अभ्यास कार्यक्रम आयोजना गरिएको उल्लेख गर्नुभयो । नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको प्राविधिक सहयोगमा कृत्रिम घटना अभ्यास भएको थियो ।
बाढी आउँदा कसरी उद्धार गर्ने ? नदीमा फसेका मानिसलाई कसरी सुरक्षित स्थानमा ल्याउने ? बाढीले घर डुबानमा पारेपछि प्रभावितलाई कहाँ राख्ने ? घाइतेको तत्काल उपचार कसरी गर्ने ? यी प्रश्नको जवाफ खोज्न बाँकेको राप्ती सोनारी गाउँपालिकामा शनिवार बाढीको नमुना अभ्यास गरिएको छ ।
‘कृत्रिम घटना अभ्यास सञ्चालन कार्यविधि–२०८३’ अनुसार नमुना अभ्यास सञ्चालन गर्ने देशकै पहिलो स्थानीय तह बनेको राप्ती सोनारीले बाढीको उच्च जोखिम रहेको आफ्नो क्षेत्रमा सम्भावित विपद्को पूर्व तयारी र प्रतिकार्य क्षमताको परीक्षण गरेको हो ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिले गत वैशाख ३१ गते स्वीकृत गरेको नयाँ कार्यविधि कार्यान्वयन गर्दै राप्ती सोनारी गाउँपालिकाले पहिलोपटक स्थानीय तहका रूपमा नमुना अभ्यास सञ्चालन गरेको हो । अभ्यासमा बाढीमा परेका नागरिकको उद्धार, प्राथमिक उपचार, सुरक्षित स्थानमा स्थानान्तरण, राहत तथा खाद्यान्न व्यवस्थापनलगायतका गतिविधि प्रदर्शन गरिएको थियो ।
राप्ती नदीमा माछा मार्न जाँदा बाढीले बगाएका व्यक्ति, घाँस–दाउरा गर्न जाँदा नदीको टापुमा फसेका नागरिक तथा बाढी बस्तीमा पसेर घरगोठ डुबानमा परेको अवस्थालाई अभ्यासको घटनाका रूपमा प्रस्तुत गरिएको थियो ।
सशस्त्र प्रहरी बलको ४२ नम्बर गणको विपद् व्यवस्थापन तालिमप्राप्त टोलीले विभिन्न प्रविधि प्रयोग गर्दै उनीहरूको उद्धार गरी सुरक्षित स्थानमा ल्याएको थियो ।
उद्धारपछि घाइतेको प्राथमिक उपचारदेखि एम्बुलेन्समार्फत अस्पतालसम्म पु¥याउने अभ्याससमेत गरिएको थियो । नेपाल रेडक्रस सोसाइटीसहित विपद्को क्षेत्रमा काम गरिरहेका विभिन्न सामाजिक संघसंस्थाले स्वास्थ्य उपचार, खाद्यान्न तथा राहत व्यवस्थापनमा आफ्नो भूमिका प्रदर्शन गरेका थिए ।
अभ्यास हेर्न र सहभागी हुन स्थानीय बासिन्दाको उल्लेख्य उपस्थिति थियो । करिब पाँच सयभन्दा बढी स्थानीय सहभागी भएको अभ्यासमा बाढीबाट कसरी सुरक्षित रहने, नदीमा बाढी आएको अवस्थामा के गर्ने र जोखिममा परेका व्यक्तिको उद्धार कसरी गर्ने भन्नेबारे समेत व्यवहारिक रूपमा जानकारी दिइएको थियो ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी उपसचिव गोमा चेम्जोङका अनुसार यसअघि विपदका क्षेत्रमा का मगर्ने विभिन्न संघसंस्था, सुरक्षा निकाय तथा तीनै तहका सरकारले आ–आफ्नै तरिकाले कृत्रिम घटना अभ्यास गर्दै आएका थिए । तर, अभ्यासमा एकरुपता ल्याउने उद्देश्यले पहिलोपटक कार्यविधि बनाएर कार्यान्वयनमा ल्याइएको हो ।
का अनुसार गत वैशाख ३१ गते कार्यकारी समितिबाट पारित भएको कृत्रिम घटना अभ्यास सञ्चालन कार्यविधि–२०८३ ले सङ्घ, प्रदेश, जिल्ला र स्थानीय तहमा हुने अभ्यासलाई व्यवस्थित र एकरुप बनाएको छ ।
“यसअघि विभिन्न संघसंस्था र तीनै तहका सरकारले आफ्नै तरिकाले कृत्रिम घटना अभ्यास गर्दै आएका थिए । अहिले कार्यविधि बनेपछि सबै निकायले गर्ने अभ्यासमा एकरूपता ल्याउन खोजिएको हो,” चेम्जोङले भनिन्, “विपद् आइहाल्यो भने उद्धारका लागि सङ्घ, प्रदेश र स्थानीय तहको क्षमता कस्तो छ भनेर मापन गर्न र आवश्यक क्षमता अभिवृद्धि गर्न पनि यसले सहयोग गर्छ ।”
उहाँका अनुसार, कार्यविधिले स्थानीय, जिल्ला, प्रदेश र सङ्घीय तहमा कृत्रिम घटना अभ्यास गर्ने स्पष्ट व्यवस्था गरेको छ । स्थानीय तहमा स्थानीय विपद् व्यवस्थापन समितिले स्वीकृति दिएपछि स्थानीय आपत्कालीन कार्य सञ्चालन केन्द्रले अभ्यासको सञ्चालन र समन्वय गर्ने व्यवस्था छ ।
राप्ती सोनारीले कार्यविधि स्वीकृत गरेपछि बाढी प्रभावित क्षेत्र राप्ती सोनारी ३ को कमैया बस्ती नजिकै राप्ती नदीमा नमुना अभ्यास गरेको हो । जिल्ला तहमा जिल्ला विपद् व्यवस्थापन समिति तथा प्रदेश र सङ्घीय तहमा सम्बन्धित निकायबाट स्वीकृति लिएर यस्ता अभ्यास सञ्चालन गर्नुपर्ने व्यवस्था कार्यविधिले गरेको छ ।
“कार्यविधिमा कृत्रिम घटना अभ्यास गर्दा के गर्ने, को–को सहभागी हुने, कस्ता सामग्री आवश्यक पर्ने र कस्तो स्थानमा अभ्यास गर्ने भन्ने विषयसमेत स्पष्ट रूपमा उल्लेख गरिएको छ,” चेम्जोङले भन्नुभयो।
राप्ती सोनारीमा विपद्को जोखिम धेरै
राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलका लागि यस्तो अभ्यास केवल औपचारिक कार्यक्रम होइन, सम्भावित विपद्का बेला पालिकाले गर्नुपर्ने कामको वास्तविक परीक्षण पनि हो ।
राप्ती सोनारी बाढी, डुबान, कटानलगायत विभिन्न विपद्को जोखिममा रहेको बताउँदै उनले वर्षा याममा राप्ती नदी तथा विभिन्न खहरे खोलामा आउने बाढीका कारण मानव बस्ती डुबानमा पर्ने, खेतीयोग्य जमिन कटान हुने तथा विद्यालय, स्वास्थ्य संस्था र सडकजस्ता संरचनामा क्षति पुग्ने जोखिम रहेको बताए ।
“राप्ती सोनारी सबैखाले विपद्बाट प्रभावित हुने पालिका हो । वर्षा याममा राप्ती नदी र विभिन्न खहरे खोलाको बाढीले मानव बस्ती डुबानमा पर्ने, खेतीयोग्य जमिन कटान हुने र विद्यालय, स्वास्थ्य संस्था तथा सडकजस्ता संरचनामा क्षति पुग्ने सम्भावना रहन्छ,” पौडेलले भन्नुभयो ।
पछिल्ला वर्षमा जोखिम न्यूनीकरणका लागि पूर्वाधार निर्माण र विपद् प्रतिकार्यका योजना अघि बढाइएकाले जोखिम केही कम हुँदै गएको उहाँको भनाइ छ ।
पालिकाले यस वर्ष विपद् प्रतिकार्य योजना समेत तयार गरेको छ । बाढी तथा डुबान भए प्रभावितलाई उद्धार गरी सेल्टर हाउसमा सुरक्षित राख्ने, स्वास्थ्य उपचार, खाद्यान्न तथा राहत उपलब्ध गराउनेदेखि मनोसामाजिक परामर्शसम्मका लागि तयारी गरिएको अध्यक्ष पौडेलले बताउनुभयो ।
उनका अनुसार स्थानीय आपत्कालीन कार्य सञ्चालन केन्द्रलाई २४ सै घण्टा तयारी अवस्थामा राखिएको छ । वडा कार्यालय, वडा विपद् व्यवस्थापन समिति तथा गाउँपालिका विपद् व्यवस्थापन समितिमार्फत मनसुनअघि र मनसुनपछि आवश्यक तयारी तथा व्यवस्थापनका कामलाई निरन्तरता दिइएको छ ।
राप्ती सोनारीमा हाल पाँचवटा सेल्टर हाउस सञ्चालनमा छन् भने थप दुईवटा निर्माणको क्रममा छन् । सञ्चालनमा रहेका पाँचवटा सेल्टर हाउसमा करिब १ हजार ५ सयदेखि २ हजार जनासम्मलाई राख्न सकिने क्षमता रहेको गाउँपालिकाले जनाएको छ ।
सुरक्षाकर्मी पुग्नुअघि समुदायबाटै उद्धारका लागि स्थानीय युवा अभ्यस्त
सशस्त्र प्रहरी बल ४२ नम्बर गण, शमशेरगञ्जका गणपति सशस्त्र प्रहरी उपरिक्षक श्याम रावतका अनुसार राप्ती सोनारीका ४९ जना युवालाई दुई चरणमा विपद् व्यवस्थापनसम्बन्धी स्वयंसेवक तालिम दिइएको छ ।
बाढी तथा डुबानका बेला सुरक्षाकर्मी घटनास्थलमा पुग्न समय लाग्न सक्ने भएकाले समुदायस्तरमै उद्धार गर्न सक्ने जनशक्ति तयार गर्ने उद्देश्यले सशस्त्र प्रहरीले राप्ती सोनारीमा प्रत्येक वर्ष स्वयंसेवकलाई तालिम दिँदै आएको छ ।
“सुरक्षाकर्मी सम्बन्धित ठाउँमा पुग्नुभन्दा अगाडि नै समुदायस्तरबाट उद्धार हुन सकोस् भन्ने उद्देश्यले युवालाई तालिम दिइएको हो,” रावतले भने, “राप्ती सोनारीका ४९ जना युवालाई दुई चरणमा तालिम दिइसकेका छौँ गाउँपालिकाको सिफारिसमा सबै वर्ग र समुदायका युवाहरुलाई गणमै १८ दिनको पूर्ण प्याकेज तालिम दिइएको छ ।”
बाढी प्रभावित क्षेत्रका १८ वर्षदेखि ४० वर्षसम्मका युवालाई लक्षित गरी यस्तो तालिम दिइएको उनले बताए । प्रत्येक वर्ष तालिम सञ्चालन गर्दै आएको सशस्त्र प्रहरीले विपद् व्यवस्थापनका लागि आफ्ना विभिन्न गणमा समेत तालिमप्राप्त टोली तयार राखेको जनाएको छ ।
लुम्बिनी प्रदेशमा बाढीका बेला पानीमा उद्धार गर्नुपर्ने अवस्थामा प्रयोग हुने गोताखोर टोली बाँकेको ४२ नम्बर गणमा रहेको र त्यहाँ ११ जना गोताखोर रहेको रावतले बताए । प्रदेशका जुनसुकै जिल्लामा गोताखोरको आवश्यकता परे उक्त टोली परिचालन हुने गरेको उनको भनाइ छ । “प्रत्येक गणमा ४०–४५ जनाको विपद् व्यवस्थापन तालिमप्राप्त टोली तयारी अवस्थामा छन्,” उनले भने ।
अभ्यासमा देखियो वास्तविक विपद्को झल्को
शनिबारको अभ्यासमा सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिमप्राप्त टोलीले राप्ती नदीमा बाढीमा बगेका व्यक्ति तथा नदीको टापुमा फसेका नागरिकको उद्धार गरेको दृश्य प्रस्तुत गरेको थियो । बाढी बस्तीमा पसेर घरगोठ डुबानमा परेपछि प्रभावितलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने अभ्यास पनि गरिएको थियो ।
उद्धार गरिएका घाइतेलाई नेपाल रेडक्रस सोसाइटीका स्वयंसेवकले प्राथमिक उपचार गरेका थिए । त्यसपछि एम्बुलेन्समार्फत अस्पतालसम्म लैजाने अभ्यास गरिएको थियो । विपद्को समयमा राहत तथा पुनःस्थापनामा सक्रिय हुने नेपाल रेडक्रस सोसाइटी, सेभ द चिल्ड्रेन, कारितास नेपाल, सप्रोस नेपाल, सामाजिक विकास मञ्च बाँकेलगायतका सामाजिक संघसंस्थाले समेत अभ्यासमा सहभागिता जनाएका थिए । उनीहरूले प्रभावितका लागि स्वास्थ्य उपचार, खाद्यान्न तथा राहत व्यवस्थापनको नमुना प्रस्तुत गरेका थिए ।
अभ्यास भइरहँदा वरिपरिका स्थानीय बासिन्दा पनि ठूलो संख्यामा उपस्थित थिए । उनीहरुले विपद्का बेला उद्धार टोलीले गर्ने कामलाई नजिकबाट हेर्नुका साथै आफू र आफ्नो समुदायलाई सुरक्षित राख्ने उपायबारे जानकारी लिए ।राप्ती सोनारीमा गरिएको यो अभ्यासले विपद्को समयमा सुरक्षा निकाय, स्थानीय सरकार, स्वयंसेवक, स्वास्थ्यकर्मी, सामाजिक संघसंस्था र समुदायबीचको समन्वय कति महत्वपूर्ण हुन्छ भन्ने सन्देशसमेत दिएको छ ।
बाढी आएपछि उद्धार गर्नुभन्दा बाढी आउनुअघि नै समुदायलाई तयार बनाउने, उद्धार टोलीको क्षमता परीक्षण गर्ने, आवश्यक उपकरण र जनशक्ति तयारी अवस्थामा राख्ने तथा प्रभावितलाई सुरक्षित स्थानमा राख्ने पूर्वतयारीलाई प्रभावकारी बनाउन यस्ता अभ्यास उपयोगी हुने सहभागीहरूको निष्कर्ष थियो ।
नयाँ कार्यविधिअनुसार देशमै पहिलोपटक गरिएको राप्ती सोनारीको यो नमुना अभ्यासले विपद् रोक्न नसकिएला, तर पूर्व तयारी, अभ्यास र समन्वयबाट त्यसले पु¥याउने क्षति भने अवश्य घटाउन सकिन्छ भन्ने सन्देश दिएको स्थानीयले बताएका छन् ।
बाँकेमा सेभ द चिल्ड्रेनसँगको साझेदारीमा विपद व्यवस्थापनको क्षेत्रमा कार्यरत सामाजिक विकास मञ्चका परियोजना स्रोत व्यक्ति घनश्याम उपाध्यायले कृृत्रिम घटना अभ्यास सञ्चालन कार्यविधि–२०८३ बमोजिम नेपालमै पहिलो पटक राप्तीसोनारी गाउँपालिकामा बाढी कृत्रिम घटना अभ्यास कार्यक्रमले बाढी आइहालेमा त्यसको प्रतिकार्य गर्ने क्षमताको परीक्षण भएको बताउनुभयो ।
Leave a Response