नेपालगञ्जमा एक सय ५० वर्षदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीला संस्कृतिको विरासत जोगाउन युवा पुस्ताको साथ खोज्न थालिएको छ ।

यो वर्ष रामलीला मञ्चनको एक सय ५९ औं संस्करणलाई आकर्षण बढाउन युवा पुस्तालाई समेत साथमा लिएर जिम्मेवारी दिईएको रामलीला सञ्चालक समितिका अध्यक्ष सन्तोषकुमार कनोडियाले जानकारी दिनुभयो ।

“पहिले युवा पुस्ताले रामलीलाको वारेमा त्यति धेरै चासो र चिन्ता गरेका थिएनन्, अहिले आकर्षण र साथ बढ्दै गएको छ”रामलीला सञ्चालक समितिका अध्यक्ष कनोडियाले भन्नुभयो,“हाम्रो निरन्तरको प्रयासले नयाँ पुस्ता पनि रामलीलामा जोडिदै गएका छन् । ”

युवा पुस्तालाई रामलीलाको इतिहास र यसको सन्देशका वारेमा अझ धेरै प्रचार प्रसार गरेर संस्कृति संरक्षणमा नयाँ पुस्तालाई पनि साथमा लैजाने योजना रहेको उहाँले बताउनुभयो । रामलीला सञ्चालक समितिमा पनि रिक्त स्थानमा युवापुस्तालाई समेट्दै गएको कनोडियाको भनाई छ ।

प्रत्येक वर्ष दशैंका अवसरमा नेपालगञ्जको रामलीला मैदानमा रामलीला महोत्सव मञ्चन हुँदै आएको छ । यो वर्ष रामलीलाको एक सय ५९ औैं संस्करणको लागि आवश्यक तयारी सुरू गरिएको रामलीला सञ्चालक समितिका अध्यक्ष कनोडियाले जानकारी दिनुभयो ।

“विगतका वर्षहरूमा जस्तै यो वर्ष पनि रामीलला महोत्सव सञ्चालन गर्ने तयारी गरेका छौँ”,अध्यक्ष कनोडियाले भन्नुभयो,“रामलीला मञ्चनको लागि भारतको वृन्दावनबाट कलाकार बुक गरिसकेका छौँ ।”

रामलीला मञ्चनका लागि बर्सेनि लाखौँ खर्च गरेर भारतबाट कलाकार ल्याइन्छ । नेपालमै कलाकार उत्पादन गर्ने प्रयास गरिए पनि सफल हुन नसकेको रामलीला सञ्चालक समितिका अध्यक्ष कनौडियाले बताउनुभयो ।

नेपालमै कलाकार उत्पादन गर्न तालिम सञ्चालन गर्ने साेंच बनाएको उहाँले उल्लेख गर्नुभयो । एउटा आयोजनामा कम्तीमा रु. १५ लाख खर्च हुने गर्द छ । अध्यक्ष कनोडियाले समुदायस्तरबाट डेढसय वर्षदेखिको यो अद्भूत कलालाई निरन्तरता दिन भइरहेको प्रयास चुनौतीपूर्ण रहेको बताउनुभयो ।

“शतप्रतिशत समुदायको सहयोगबाट चलेको छ । नितान्त समुदायको अग्रसरतामा यहाँसम्म आइपुगेको यो ऐतिहासिक विरासतलाई निरन्तरता दिन र जीवन्त राख्न स्थानीय कलाकार उत्पादनलाई विशेष प्राथमिकतामा राखेर अगाडि बढ्न स्थानीय सरकारको सहयोग आवश्यक देखिन्छ ।”, कनोडियाले भन्नुभयो ।

एक सय ५२ वर्षदेखि निरन्तर प्रत्येक वर्ष हुँदै आएको रामलीला महोत्सवको एकसय ५३ र एकसय ५४ औं वर्ष प्रवेशको कार्यक्रम कोरोना महामारीका कारण स्थगित गरिएको थियो डेढ सय वर्षदेखि निरन्तर प्रत्येक वर्ष हुँदै आएको रामलीला महोत्सवको १ सय ५३ र १ सय ५४ औं वर्ष प्रवेशको कार्यक्रम कोरोना महामारीका कारण स्थगित गरिएको थियो भने १ सय ५८ औं वर्ष प्रवेशको कार्यक्रम गतवर्ष जेनजी आन्दोलनाका कारण नियमित रूपमा मञ्चन हुन नसके पनि रावण दहन कार्यक्रम भने गरिएको थियो । सत्यमाथि विजयको प्रतीकका रूपमा मनाइने दशैंको पहिलो दिन घटस्थापनादेखि विजयादशमीको दिनसम्म राति ८ बजे देखि १२ बजेसम्म रामलीला मञ्चन गरिन्छ ।

नेपालगञ्जवासी चासो र उत्साहका साथ रामलीला महोत्सवमा सयौंको सङ्ख्यामा मध्य रातसम्म सहभागि हुने गर्दछन् । धनुष यज्ञ, रावणवध, भरतमिलाप र रामको शुभ राज्याभिषेक भएर रामलीला महोत्सव समापन हुने गर्दछ ।

यसक्षेत्रको परिचय बनेको रामलीला मञ्चनले नेपाल तथा भारतमा नेपालगञ्जलाई चिनाएको उहाँको भनाई छ । सञ्चालक समितिका अध्यक्ष कानोडियाका अनुसार, बिश्वनाथ टण्डन, बद्रिनाथ टण्डन, पाटनदिन गुप्ता, जगदिशप्रसाद वैश्य, पन्नालाल गुप्ता, जयेन्द टण्डन,भाइलाल हल्वाईलगायतले नेपालगञ्जमा रामलीला महोत्सवको सुरुवात गर्नुभएको थियो ।

नेपालगञ्जको परम्परालाई जोगाई राख्नका लागि सहयोग सङ्कलन गरेर रामलीला महोत्सव गर्दै आएको स्थानीय अगुवा द्वारिकाप्रसाद वैश्यले बताउनुभयो । बिक्रम सम्बत १९२५ देखि नेपालगञ्जको रामलीला मैदान र टण्डन राइस मिलमा मञ्चन हँुदै आएको यो कला नेपाली भन्दा बढि सीमावर्ती भारतीयहरुबीच लोकप्रिय छ ।

फोटो क्याप्सनः रामलीला सञ्चालक समिति अध्यक्ष कनोडिया। तस्विरःभेषराज बस्नेत, रासस