दसैँ पर्व नजिकिँदै गर्दा बाँकेको नेपालगञ्जका मूर्तिकारहरूलाई यतिबेला भ्याइनभ्याई छ । सडक किनारका अस्थायी टहरादेखि घरका आँगनसम्म माटोका सुगठित मूर्तिहरूले भरिभराउ छन् ।

तराई क्षेत्रमा घटस्थापनाका दिनदेखि टोल–टोलमा माटोका मूर्ति स्थापना गरी नवदुर्गा भवानीको पूजाअर्चना गर्ने पुरानो परम्परा रहेकाले यतिबेला यहाँका कालिगडहरू दिनरात नभनी काममा खटिएका छन् ।

नेपालगञ्ज उपमहानगरपालिका–८ का अङ्कित मिश्र एक महिना अघिदेखि नै मूर्ति बनाउन व्यस्त हुनुहुन्छ । दुर्गा भवानीको मूर्तिले आकार लिइसकेपछि अहिले उहाँ र उहाँका सहयोगीहरू साजसज्जा र रङ्रोगनमा तल्लीन छन् । पराल, बाँस, माटो, भुस र दाउराको प्रयोग गरी तयार पारिएका मूर्तिहरूमा देवी–देवताका बाहन र अस्त्रशस्त्र सजाउने अन्तिम काम भइरहेको मिश्र बताउनुहुन्छ ।

“दुर्गा, लक्ष्मी, गणेश, कार्तिकेसँगै बाघ, मुसा, राँगा र सर्पका आकृतिहरू तयार भइसकेका छन्”, उहाँले भन्नुभयो, “ग्राहकहरूले महिना अगाडि नै अर्डर (बुक) गर्ने भएकाले समयमै काम सक्न चटारो छ ।” मूर्तिको सजावट तथा औजारहरू भने सीमावर्ती भारतीय बजार रुपैडिहाबाट खरिद गरी ल्याइने गरिएको छ ।

यस्तै, नेपालगञ्ज–६ का सन्दीपकुमार वंसकारको दैनिकी पनि माटोसँगै बितिरहेको छ । पुख्र्यौली पेसालाई निरन्तरता दिइरहनुभएका वंसकारले सडक किनारको अस्थायी टिनको टहरामा सयौँ मूर्तिहरू तयार पारिरहनुभएको छ । “सानोमा घरमै ससाना मूर्ति बनाउँथेँ, पछि ठूला बनाउन थालेँ,“ वंसकार भन्नुहुन्छ, “नवरात्र हाम्रो मुख्य सिजन हो । मेहनत धेरै छ, पराल, माटो, काठ, काँटी र डोरीको जोहो गर्नुपर्छ ।”

रु. २० देखि २५ हजारमा बिक्री हुने एउटा मूर्तिबाट रु. ४ देखि ५ हजारसम्म नाफा हुने उहाँको भनाइ छ। वंसकारले आफूसँगै अन्य छ जनालाई रु. १० हजारदेखि २० हजारसम्मको पारिश्रमिक दिएर रोजगारी समेत दिनुभएको छ ।

तर, सङ्गठित सङ्घ–संस्थाको अभावमा मूर्तिकारहरूले केही समस्या पनि भोग्नुपरेको छ । स्पष्ट दररेट
(मूल्य) निर्धारण नहुँदा आ–आफ्नै तरिकाले मूर्ति बिक्री गर्नुपर्ने बाध्यता रहेको मूर्तिकारहरू बताउँछन् । नियमित र चिनेजानेका ग्राहकलाई छुट दिँदा कहिलेकाहीँ घाटा समेत सहनुपर्ने सन्दीपको अनुभव छ ।

विगतका वर्षहरूमा अधिकांश मूर्तिहरू भारतबाट आयात गरिने गरिए पनि पछिल्ला वर्षहरूमा नेपालगञ्जमै बनेका मूर्तिहरूको माग ह्वात्तै बढेको छ । “टाढाबाट ल्याउँदा टुट्ने–फुट्ने जोखिम हुने भएकाले धेरैजसोले यहीँ अर्डर दिन्छन”, मूर्तिकार सन्दिप भन्नुहुन्छ । यद्यपि, अझै पनि धेरै ठूला र विशेष डिजाइनका लागि केही मानिसहरू भारतीय बजार पुग्ने गरेका छन् ।

बाँकेको नेपालगञ्ज, कोहलपुर, जानकी, खजुरा, डुडुवा र नरैनापुर क्षेत्रमा दसैँको भोलिपल्ट दुर्गा झाँकी निकाल्ने परम्परा छ । टोल–टोलमा समुदाय मिलेर रकम सङ्कलन गरी वा निजी खर्चमा समेत नवदुर्गा भवानीको मूर्ति स्थापना गर्ने गरिन्छ ।

नेपालगञ्जका अगुवा सन्तोषकुमार कनोडियाका अनुसार, टोलमा देवीको मूर्ति स्थापना भएपछि र बाँके बगियामा रामलीला सुरु भएपछि मात्र नेपालगञ्जमा दसैँको वास्तविक माहोल सुरु हुन्छ । नवरात्रभर विधिवत् पूजाअर्चना गरिएका यी मूर्तिहरूलाई दसैँको भोलिपल्ट नजिकैको राप्ती नदीमा लगेर धूमधामका साथ विसर्जन गर्ने गरिन्छ ।