
बर्दिया। बर्दिया जिल्लामा सिकाई परियोजना सञ्चालन भएका स्थानीय तहका शिक्षा शाखा प्रमुख तथा शिक्षा समितिका पदाधिकारीका लागि स्टिम एजुकेशन सम्बन्धी क्षमता बिकास तालिम सम्पन्न भएको छ ।
विद्यालयतहको शिक्षालाई गुणस्तरीय बनाउने उद्देश्यले बर्दियामा परियोजना सञ्चालन भएका राजापुर नगरपालिका, ठाकुरबाबा नगरपालिका,बारबर्दिया नगरपालिका,गुलरिया नगरपालिका,मधुवन नगरपालिका र गेरुवा गाउँपालिकाका शिक्षा शाखा प्रमुख एवम शिक्षा समितिका पदाधिकारीहका लागि आइतवार देखि ठाकुद्धारामा तीन दिने स्टीम एजुकेशन तालिम आयोजना गरिएको थियो ।
विद्यालयमा लैंगिक समानता प्रवर्दन गर्न तथा लैंगिक संवेदनशिल शिक्षण सिकाई पद्धतिलाई अंगिकार गरी कक्षा सञ्चालन गर्ने उद्देश्यले तालिम संचालन गरिएको हो । प्लान इन्टरनेशनल नेपाल क्षेत्रीय कार्यालय कर्णाली प्रदेश सुर्खेतको आर्थिक सहयोग र सामाजिक सचेतन सरोकार मंच स्याक नेपाल बाँकेको साझेदारी तथा स्थानीय तहसँगको समन्वय र सहकार्यमा सिकाई परियोजना संचालन भएको छ ।

तालिमबाट शिक्षकलाई विद्यालयमा गरिने शिक्षण सिकाई पद्धति र कक्षाकोठा व्यवस्थापनमा रुपान्तरण गर्न लैंगिक संवेदनशिल शिक्षण सिकाई विधि र प्रक्रियाको बारेमा सहभागिको ज्ञान र सिपमा अभिवृद्धि भई विद्यालय तहमा पाठ्यक्रममा भएको बिषयगत पाठको सहजीकरण गर्न र शिक्षण सिकाइमा मद्घत पुग्ने अपेक्षा गरिएको छ ।
तालिममा स्टिम शिक्षाका विविध पक्षहरु, स्टिम शिक्षण विधि, स्टिम विषयवस्तुहरु तथा नेपाल सरकारले हालै लागु गरेको इन्टीग्रेटेड पाठ्यक्रमका पक्षहरुमा प्रशिक्षण गरिएको छ । तालिमलाई त्रिभुवन विश्वविद्यायका स्टीम म्याथमेटिक्स स्टीम एजुकेशनका उपप्रधाध्यक इन्द्रमणि श्रेष्ठले सहजीकरण गर्नुभएको परियोजना अधिकृत लक्ष्मीप्रसाद शर्माले जानकारी दिनुभयो ।
