fbpx
31.6 C
Nepalgunj

संक्रमितको आत्मबल बढाउन घर–घरमा वडाध्यक्ष कार्की

नेपालगन्ज । तिव्र गतिमा देखिएको कोरोना सक्रमण रोकथामको लागि बाँके जिल्लाभरी तीन हप्तादेखि निषेधाज्ञा जारी छ । कोरोना संक्रमित र मृत्यु दर दैनिक रुपमा बढिरहँदा नेपालगन्ज उपमहानगरपालिका वडा नं. २० का वडाध्यक्ष कृष्ण कार्कीको दैनिकी भने बदलिएको छ ।

वडाअध्यक्ष कार्की अहिले २० नं. वडाको मनिकापुरवासीको स्वास्थ्य अवस्था बुझ्न घर–घरमा पुग्ने गर्नुभएको छ । वडामा होम आइसोलेसनमा रहेका संक्रमितहरुको घर–घरमा पुगेर स्वास्थ्य अवस्था बुझी आवश्यक स्वास्थ्य सामग्री प्रदान गरी आत्मबल बढाउने कार्यमा खटिनु भएको छ ।

“२० नं. वडा उपमहानगरभित्रै ठूलो वडा हो, जनसंख्या र भौगोलिक रुपमा पनि ठूलो छ, अहिले टोल टोलमा पुगेर होम आइसोलेसनमा रहेका संक्रमित विरामीलाई भेटने, स्वास्थ्य अवस्था बुझी औषधि वितरण गर्दा गर्दै दिन बित्ने गरेको छ”, अध्यक्ष कार्कीले हाम्रो समाचार दैनिकसँग भन्नुभयो,“समुदायस्तरमै कोरोना फैलिएकोले वडावासीलाई सजक र सुरक्षित रहन आग्रह गरेका छौँ, संक्रमितलाई अवस्था अनुसारको स्वास्थ्य सेवा व्यवस्था गरेका छौँ ।”

उहाँका अनुसार, तीनदिनदेखि वडा नं.२० मा जनप्रतिनिधि, मनिकापुर स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी र वडा कार्यालयका कर्मचारीलाई लिएर संक्रमितको स्वास्थ्य अवस्था जाँच गर्ने, स्वास्थ्य सामग्री वितरण गर्ने कार्य निरन्तर चलिरहेको छ ।

आफ्नो अभियानमा वडा सदस्य चक्र बिसी, नन्दकुमार बर्मा पटहर, तुलसी सुनार र कौशिल्या यादव लगायत सबै स्वास्थ्यकर्मी र कर्मचारीले पनि साथ दिएको उहाँको भनाई छ । संक्रमितहरुलाई घर–घरमा स्वास्थ्य सेवा तथा सामग्री वितरण गर्ने अभियानकै क्रममा स्वास्थ्यचौकीका सबैजसो स्वास्थ्यकर्मी संक्रमित हुन पुगेका छन् ।

“स्वास्थ्यचौकीका निमित्त प्रमुख सुरज बोहरा बाहेक सबै कर्मचारी संक्रमित हुनुभएको छ, हामी पनि कतिबेला हुने हो ठेगान छैन”, वडाध्यक्ष कार्कीले भन्नुभयो,“वडावासीको जीवन रक्षाको लागि कोरोना विरुद्ध निरन्तर घरदैलो अभियान सञ्चालन हुनेछ यो रोकिदैन ।”

घरदैलो अभियानका क्रममा वडामा भारत लगायतका बाहिरी मुलुकबाट आउने व्यक्तिको पहिचान र सम्भावित संक्रमितको खोजी समेत गरिने गरिएको छ । कोरोनाको लक्षण देखिएका विरामी भेटिएमा कोरोना जाँच गर्न पठाउने, मास्क, सेनिटाइजर लगायतका सुरक्षा सामाग्री वितरण गर्ने गरिएको वडाध्यक्ष कार्कीले बताउनुभयो ।

“मेरो वडामा धेरै दाजुभाईहरु भारत लगायत बाहिरबाट फर्किनु भएको छ, उहाँहरुको स्वास्थ्य अवस्था बुझ्न र नयाँ विरामी भेटिए तत्काल अस्पताल पुर्याउन जनताको घरदैलोमै घुमिरहेको छु”, वडाध्यक्ष काकींले हाम्रो समाचार दैनिकसँग भन्नुभयो,“जुनसुकै बेला पर्न सक्ने अफ्ठेरो परिस्थितिलाई समेत मध्यनजर गरेर जनतालाई आवश्यक सजकता र स्वास्थ्य मापदण्ड अपनाउन अनुरोध गर्दै स्वास्थ्य अवस्था बुझ्दै हिँडिरहेको छु ।”

नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २० का अध्यक्ष कार्कीले वडामै स्थापना गरिएको आइसोलेसन केन्द्रमा आवश्यक समन्वयको लागि दिनरात खटिदै आउनुभएको छ । उपमहानगरपालिकाले वडा नं.२० स्थित ह्वाइट हाउसमा आइसोलेसन केन्द्र स्थापना गरेकोले नगरभरीबाट आउने संक्रमितलाई व्यवस्थापन गर्न र जटिल विरामीलाई थप उपचारको लागि आवश्यक समन्वय गर्ने काम भईरहेको वडाध्यक्ष कार्कीले बताउनुभयो ।

“कोरोना महामारी संक्रमणबाट बच्न वडावासीलाई बन्दाबन्दीको पूर्ण पालना गर्दै स्वास्थ्य मापदण्ड अपनाउन सचेत पार्दै संक्रमितलाई तुरुन्तै आइसोलेसनमा राख्दै आएका छौ”, वडाध्यक्ष कार्कीले भन्नुभयो,“वडा नं.२० मा ठूलो संख्यामा सुकुम्वासी तथा दैनिक काम गरी खाने मजदुर रहेकोले लकडाउन लम्बिदै जाँदा उनीहरुलाई दैनिक उपभोग्य सामग्रीको अभाव हुन सक्ने कुरामा पनि ध्यान दिएका छौँ ।”

नेपालगन्ज उपमहानगरपालिका २० नंं. वडामा अहिले पनि ९६ जना सक्रिय संक्रमितले स्वास्थ्य लाभ गरिरहनु भएको वडा सदस्य चक्र बिसीले जानकारी दिनुभयो । उहाँका अनुसार, घर घरमा पुगेर संक्रमितको अवस्था बुझि आत्मबल बढाउनुको साथै सामान्य विरामीको समेत जाँच गरी स्वास्थ्य सामग्री वितरण गरिदै आएको छ ।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

Latest article

Translate »