त्रिविमा आज स्ववियु चुनाव
नेपालगन्जमा अखिल र नेविसंघबीच मुख्य प्रतिष्पर्धा

नेपालगन्ज । विद्यार्थी नेता उत्पादन गर्ने थलोको मुख्य रूपमा चिनिने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन मङ्गलबार हुँदै छ । मङ्गलबार त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आङ्गिक तथा सम्बन्धनप्राप्त क्याम्पसमा निर्वाचन हुने भएको हो ।
हरेक दुई वर्षको अन्तरालमा हुनुपर्ने यस्तो निर्वाचन आन्तरिक विवादका कारण केही क्याम्पसमा भने १६ वर्षपछि मात्रै हुँदै छ । केही बाहेक त्रिविका आङ्गिक तथा सम्बन्धनप्राप्त क्याम्पसमा यसअघि २०७९ चैत ५ गते स्ववियु निर्वाचन भएको थियो । त्यसअघि भने २०६५ सालमा मात्रै निर्वाचन भएको थियो ।
पश्चिम नेपालको सबैभन्दा ठूलो नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा यसपटक अनेरास्ववियू र नेबिसंघ एक्ला एक्लै प्रतिष्पर्धामा उत्रिएका छन् भने, र अनेरास्ववियु क्रान्तिकारीको नेतृत्वमा संयुक्त प्यानल र अन्य साना दल निकट विद्यार्थी संगठनले समावेशी विद्यार्थी समूहका नाममा प्रतिष्पर्धा गर्दैछन् । अनेरास्ववियुले केशरजंग शाह र नेविसंघले सन्तोष रावलको नेतृत्वमा उम्मेदवार प्रतिष्पर्धामा उतारेका छन् । महेन्द्र बहुमुखी क्याम्पसमा यसअघि २०७९ चैत ५ गते भएको स्ववियु निर्वाचनमा अनेरास्ववियुले जित हासिल गरेको थियो । यो वर्ष पनि मुख्यगरी अनेरास्ववियु र नेविसंघबीचनै प्रतिष्पर्धा हुने देखिएको छ । यहाँ संयुक्त प्यानलका नाममा अनेरास्ववियु क्रान्तिकारीका हरेन्द्र बि.क. र समावेशी विद्यार्थी समूहका नाममा निशान थारुले प्रतिष्पर्धा गर्दैछन् ।
बाँकेकै नेपालगन्जस्थित नर्सिङ्ग क्याम्पस, राप्तीसोनारीको फत्तेपुरस्थित जनसिद्देश्वर बहुमुखी क्याम्पस र खजुरास्थित ज्ञानोदय बहुमुखी क्याम्पसमा पनि स्ववियु निर्वाचन हुँदैछ । नेपालगन्जस्थित नर्सिङ्ग क्याम्पसमा पनि एक्ला एक्लै प्रतिष्पर्धा गरेका सत्तारुढ दल निकट अनेरास्ववियु र नेविसंघले जनसिद्देश्वर र ज्ञानोदयमा भने गठबन्धन बनाएर चुनावी प्रतिष्पर्धा गर्दैछन् ।
पोखराको पृथ्वीनारायण बहुमुखी क्याम्पसमा भने दुई वर्षअघि पनि निर्वाचन हुन सकेको थिएन । त्यहाँ २०६५ सालपछि बल्ल निर्वाचन हुन लागेको छ । यस पटक पनि विद्यार्थी सङ्गठनकै विवादका कारण त्रिविका ६३ वटा आङ्गिकमध्ये केहीमा भने ५ गते निर्वाचन नहुने भएको छ ।
सम्बन्धनप्राप्तमध्ये सबैजसो क्याम्पसमा निर्वाचन हुन लागेको तर यकिन तथ्याङ्क नआएको त्रिविका शिक्षाध्यक्ष प्राडा खड्ग केसीले बताउनुभयो । उहाँका अनुसार निर्वाचन रोकिएका क्याम्पसमा पनि एक दुई दिनमै निर्वाचन गर्ने गरी छलफल चलिरहेको छ ।
निर्वाचन हुन नसकेका क्याम्पसमध्ये अधिकांशमा तालाबन्दी छ । निर्वाचन निर्देशिका अनुसार प्रव्रिmया बिथोलिएका सबै क्याम्पसमा चैत २० गतेभित्र निर्वाचन गरिसक्नुपर्ने जनाएको छ । राजनीतिक दलको नर्सरी मानिने विद्यार्थी सङ्गठनबिच हुने स्ववियु निर्वाचनलाई राष्ट्रिय राजनीतिको प्रवेश बिन्दुका रूपमा पनि चिनिन्छ । केही विश्वविद्यालयले स्ववियु निर्वाचन सम्पन्न गरिसकेका छन् भने केहीले भने निर्वाचन तयारी गरिरहेका छन् ।
निर्वाचन हुने क्याम्पसमध्ये अधिकांशमा विद्यार्थी सङ्गठनले एक–अर्काबिच तालमेल गरेर प्यानल बनाएका छन् । केहीमा भने मुख्य सङ्गठनले एक्लाएक्लै चुनाव लड्ने गरी प्यानल बनाएका छन् ।