
जानकी । बाँकेको जानकी गाउँपालिकामा कार्यरत सङ्घ–संस्थाहरुले महिला हिंसा न्यूनिकरणको लागि एकतावद्ध भएर काम गर्ने भएका छन् ।

जानकी गाउँपालिका महिला बालबालिका शाखाद्वारा आईतबार आयोजित १६ दिने महिला हिंसाविरुद्धको अभियान अन्तर्गत भएका कार्यक्रमको समिक्षा बैठकमा सहभागि सङ्घ–संस्थाका प्रतिनिधिले महिला हिंसा साझा समस्या भएकोले सबै सङ्घ–संस्था समन्वय गरेर काम गर्ने प्रतिवद्धता जनाएका हुन् ।

गाउँपालिका उपाध्यक्ष भूमिसरा धितालले महिला हिंसा न्यूनिकरणको लागि गाउँपालिका संवेदनशिल ढंगले लागि परेको बताउँदै गाउँपालिकामा कार्यरत सबै सङ्घ–संस्थासँग समन्वय गरेर काम गरिने बताउनुभयो ।
बैठकमा बोल्दै मिलाप संस्थाकी प्रतिनिधि प्रेमा रेग्मीले १६ दिने महिला हिंसाविरुद्धको अभियान जानकी गाउँपालिकामा प्रभावकारी रुपमा गरिएको बताउनुभयो । गाउँपालिकामा कार्यरत सबै सङ्घ–संस्थाबीच आपसी समन्वय र सहकार्य हुनुपर्नेमा जोडदिदै उहाँले महिला हिंसाविरुद्ध सचेतनाको लागि सबै एकजुट भएर लाग्नु पर्ने बताउनुभयो ।
कार्यक्रममा त्रिवेणी विकास समाजका पतिराम थारु, मिश्रीलाल यादव, जनजागरण समाज खजुराका रामनरेश प्रजापति लगायतले महिला हिंसा न्यूनिकरणको लागि कार्ययोजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रमको सहजिकरण जानकी गाउँपालिका महिला बालबालिका शाखाकी सुपरभाइजर कल्पना गाहाले गर्नुभएको थियो ।