दोहोरो असुरक्षा झेल्दै “सीमा रक्षक”नयाँगाउँवासी

-हाम्रो समाचार-

नेपालगन्ज (रासस) । सीमा रक्षाको भूमिका निर्वाह गर्दै आएका बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. ४ स्थित नयाँगाउँवासी दोहोरो असुरक्षा झेल्न बाध्य भएका छन् ।

प्रदेशसभा सदस्य आइपी खरेलको नेतृत्वमा नयाँगाउँको पछिल्लो अवस्था अध्ययनको लागि नेपालगञ्जबाट पुगेको टोलीसँग भारतीय पक्षबाट हुनेगरेको सीमा अतिक्रमण र वन तथा नदीजन्य पदार्थ तस्करी गर्नेहरुबाट दिनहुँ असुरक्षित बन्दै गएको स्थानीयले बताएका हुन् ।

भारतीय सीमासँग जोडिएको नयाँगाउँ पुग्न राप्तीसोनारी गाउँपालिका वडा नं. ४ वडा कार्यालयबाट मोटरसाइकलमा ४ देखि ५ घण्टाको समय लाग्ने गर्दछ । करिव एक दशक अघि अस्तित्वमा आएको सो गाउँमा प्रहरी प्रशासन र सरकारी निकायको नियमित उपस्थिति हुननसकेका कारण आफुहरु असुरक्षित हुँदै गएको नयाँगाउँ खयरभट्टीका बलबहादुर बुढाथोकीले बताउनुभयो ।

“भारतीयहरुले सीमा मिच्दै आउन थालेका छन् । सीमा कहाँ छ थाह छैन । दसगजामा नै जोतेर खेत रोप्दै आएका छन् । केही बोलौ हाम्रो नै बासको ठेगान हुँदैन”,बुढाथोकीले नयाँगाउँको अवस्थावारे भन्नुभयो,“कसैले हेरेन हामीलाई, सुरक्षा छैन, जसोतसो बाँच्ने काम भएको छ ।”

नयाँगाउँवासीसँग अन्तक्र्रिया गर्दै प्रदेशसभा सदस्य खरेल ।

एक दशक अघि राज्यको नजरमा परेको नयाँगाउँलाई साविक बैजापुर गाविस हुँदै अहिले राप्तीसोनारी गाउँपालिका वडा नं. ४ मा गाभ्ने काम भए पनि न्यूनतम आधारभूतसेवा सुविधा राज्यले पु¥याउन नसकेको बुढाथोकीले बताउनुभयो ।

“शिक्षा, स्वास्थ्य, खानेपानी केहीको पनि व्यवस्था छैन । सुरक्षाको त कुरै नगरौं मौका पाउनासाथ भारतीय नागरिक र सीमामा रहेको अर्ध सैनिक बल एसएसबीले गाउँमा आएर धम्काउने गर्दछन्, महिला दिदी बहिनी एक्लै हिँडडुल गर्ने अवस्था छैन”,बुढाथोकीले भन्नुभयो,“नेपाली भूमिमा आएर उनीहरुले जथाभावी गर्दा पनि हामी सहेर बस्न बाध्य भएका छौँ ।”

नयाँगाउँको गुदनगौडीमा सरकारले स्वास्थ्य चौकी स्थापना गरेपनि नियमित रुपमा स्वास्थ्य सेवा र औषधि पाउन नसकेको स्थानीयको गुनासो छ । नयाँगाउँमा नेपाल प्रहरीको चौकी, सीमा सुरक्षाको लागि सशस्त्र प्रहरी बलको टोली खटाईनु पर्ने स्थानीयवासीको माग रहेको छ ।

वडाध्यक्ष कान्छा थारुले भारतसँग जोडिएको पहाडी इलाकामा छरिएको वस्ती भएकोले नयाँगाउँमा असुरक्षा र असुविधा रहेको बताउनुभयो । उहाँले नयाँगाउँका कतिपय वडा नं. १ र कतिपय नरैनापुर गाउँपालिकाका समेत वासिन्दा रहेको उल्लेख गर्दै सबै वडा नं. ४ का नागरिक नभएको जानकारी दिनुभयो ।

“वडा नं. ४ अन्तर्गत १३० जनाको अभिलेख रहेको छ, लकडाउनको बेला राहत बाँड्दा १२६ जनाको तथ्याङ्क सङ्कलन भएपनि १३० जनालाई वितरण गरी अभिलेख राखिएको छ”, वडाध्यक्ष थारुले भन्नुभयो,“नयाँगाउँवासी को कुन वडाको भन्नेनै निश्चित नभएको अवस्था रहेको छ ।”

उहाँले नयाँगाउँ आवतजावतको लागि गत आर्थिक वर्षमा प्रधानमन्त्री स्वरोजगार कार्यक्रममार्फत घोरेटो बाटो निर्माण गरिएपनि यो वर्ष त्यहाँ विकासको योजना नरहेको बताउनुभयो ।

राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले नयाँगाउँवासी भारतीय पक्षबाट हुनेगरेको सीमा अतिक्रमण र वन तथा नदीजन्य पदार्थ तस्करी गर्नेहरुबाट दिनहुँ असुरक्षित बन्दै गएको बताउनुभयो ।

”म अस्तीमात्रै त्यहाँ पुगेर अवस्थावारे बुझेर आएको थिएँ, जङ्गलको बीचमा रहेको वस्तीकाकारण अवैध तस्करी गर्ने कार्यमा अवरोध पुगेकोले धम्काउने तर्साउने गरेको पाईएको छ”, अध्यक्ष थारुले भन्नुभयो,“नयाँगाउँवासीले सुरक्षाको माग गरेका छन् तर तत्कालै त्यहाँ सुरक्षा निकायको उपस्थिति हुने सम्भावना देखिदैन ।”

उहाँले नयाँगाउँमा गाउँपालिकाबाट खानेपानी, स्वास्थ्यचौकी र विद्यालयमा लगानी भएको जानकारी दिनुभयो । बाँकेको अति बिकट मानिने उक्त ठाउँ नयाँगाउँका रुपमा परिचित छ । यहाँ झोरहवा, बाँसखोली, चुनभट्टी, खयरभट्टी, कुण्टेपानी,चिउरीहवा, गुदनगौडी, मुरकट्टा (महेशपुर) र आमवासा लगायतका गाउँ रहेका छन् ।

नयाँगाउँको झोरहवामा वन अतिक्रमण भएको भन्दै डिभिजन वन कार्यालयले १३ घरमा आगजनी गरेपछि स्थलगत अवलोकनमा पुग्नुभएका प्रदेश सभा सदस्य एवम् नेकपा बाँकेका अध्यक्ष खरेलले नयाँगाउँवासीले नेपाली सीमा रक्षकको काम गरिरहेको बताउनुभयो ।

“भारतीयपक्षले सीमा मिचिरहेको छ, दशगजा निश्चित छैन, प्रत्येक वर्ष सीमा स्तम्भ सार्ने गरेको पाईएको छ”, उहाँले रासससँग भन्नुभयो,“भारतले सीमा मिच्दा प्रतिवाद गरिरहेका नयाँगाउँवासीले त्यहाँबाट अवैध रुपमा हुनेगरेको वन तथा नदीजन्य पदार्थको तस्करीको समेत वाधक वनेका छन्, त्यसैले उनीहरु दुवैतर्फबाट असुरक्षित छन् ।”

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Next Post

गाउँपालिका अध्यक्ष फडेराको संलग्नतामा कुटपिट,एक गम्भीर घाईते

२०७७ श्रावण २४, शनिबार ०७:४१
There is no excerpt because this is a protected post.

Calendar

September 2020
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
Translate »
0
Would love your thoughts, please comment.x
()
x