जय जनता माविले शुरु गर्यो टोल पढाई कार्यक्रम

–चन्द्र बोहरा–

नेपालगन्ज, १९ असार । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २० स्थित जय जनता माध्यमिक विद्यालयले टोल पढाई कार्यक्रम सञ्चालन गरेको छ ।

कोरोना भाइरस महामारी रोकथामका लागि जारी बन्दाबन्दीका कारण विद्यालय सञ्चालन गर्नसक्ने अवस्था नरहेपछि टोल–टोलमा पुगेर विद्यार्थीलाई पठनपाठनमा सक्रिय बनाउन थालिएको विद्यालयका प्रधानाध्यापक रामबहादुर पाण्डेले जानकारी दिनुभयो ।

उहाँका अनुसार, टोलको विद्यार्थीलाई टोलमै जम्मा गरेर, सामुदायिक भवन, चौतारामुनी सामाजिक दूरी कायम गरेर पढाईने गरिएको छ । विद्यार्थीको चाँप बढि हुन नदिन दुई चरणमा पठनपाठन कार्य भईरहेको छ ।

कक्षा १ देखि कक्षा १० सम्मका विद्यार्थीलाई समेट्ने गरी टोल पढाई कार्यक्रमको समय तालिका र शिक्षकको जिम्मेवारी तोकिएको छ । विद्यालयले विद्यार्थीको नाम अभिलेखिकरण गरेर पाठ्यपुस्तक वितरण गरेपश्चात टोल पढाई कार्यक्रम सञ्चालन गरेको हो ।

कक्षा १ देखि ३ सम्मका विद्यार्थीका लागि फारम टोलमा सरिता रावत र गङ्गाराम शर्मा, थपुवामा शान्ति गौतम र तुलमाया चौधरी, प्रसादीपुर र रजगढवामा सीता गौतम र डिलबहादुर केसी र नयाँवस्तीमा लक्ष्मी खरेल र मनसरा बुढालाई जिम्मा दिईएको छ ।

कक्षा ४ देखि १० सम्मका विद्यार्थीका लागि विषयगत शिक्षक अनुसार बिहान साढे १० बजेदेखि दिउँसो पौने एक बजे र दिउसो पौने एक बजेदेखि दिउसो पौने ३ बजेसम्म टोल पढाई कार्यक्रम सञ्चालन गरिएको छ ।

रेडियो र टेलिभिजनको माध्यमबाट विद्यार्थीलाई पठनपाठन गराउन सक्ने अवस्था नभएपछि टोल पढाई कार्यक्रम सञ्चालन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जग्गबहादुर छत्याल (जीवन) ले जानकारी दिनुभयो ।

उहाँले टोल पढाई कार्यक्रम सञ्चालन गर्न धेरै चुनौति रहे पनि बालबालिकालाई पठन पाठनमा सक्रिय बनाईराख्न विद्यालयले हर सम्भव प्रयास गरिरहेको उल्लेख गर्नुभयो ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x