मेरो घरपरिवार भनेकै वडावासी हुन् ः वडाध्यक्ष जुमन खाँ

नेपालगन्ज उपमहानगरपालिका वडा नं. ७ का अध्यक्ष जुमन खाँले वडामा विकासका लागि आएको बजेटलाई माग र पहुँचका आधारमा नभई आवश्यकताका आधारमा वितरण गरिएको बताउनु भएको छ ।

“स्थानीय निर्वाचनपछि विकासले लय समातेको छ । अब हामी एउटा ट्रयाकमा गइसकेका छौं । विकास तीव्ररुपमा अघि बढेको छ । तर अझै पनि चुनौतिहरु धेरै छन् ।”, हाम्रो समाचारसँगको कुराकानीमा उहाँले भन्नुभयो,“‘मेरो घर परिवार भनेकै वडाबासी हुन् । वडाको विकासमा मैले अझ धेरै गर्नुछ ।”

२०७४ को स्थानीय तह निर्वाचनमा तत्कालिन नेकपा माओवादीबाट उम्मेदवार बन्नुभएका खाँले ४ सय २६ मत ल्याएर वडाध्यक्षमा विजयी भएसँगै थपिएको जिम्मेवारी र आइपर्ने चुनौतिलाई सहजरुपमा सामना गरिरहनुभएकौ छ। पारिवारिक जिम्मेवारीलाई गौण ठान्दै खाँले सामाजिक जिम्मेवारीलाई प्राथमिकता दिएर अघि बढिरहनुभएको छ ।

वडाध्यक्षमा खाँको एउटै ध्यान छ, अन्य वडाको तुलनामा नेपालगन्ज उपमहानगरको ७ नम्बर वडालाई अब्बल र विकसित वडाका रुपमा विकास गरेर पहिलो नम्बरमा स्थापित गर्नु । स्थानीय सरकारको विकासको गति र सम्भावनाका पाटाहरुलाई राम्रोसँग बुझेका मेहेनती, लगनशील, र कर्मशील खाँले ७ नम्बर वडालाई आफ्नै कार्यकालमा बदल्ने सपना र सोंचलाई व्यवहारमा बदल्न हरेक दिन वडाबासीकै काममा खटिने गर्नुभएको छ ।

वडाध्यक्ष जुमन खाँ

वडापालिका समावेशी, न्यायोचित र समतामूलक विकास संघीयताको मर्म अनुसार अघि बढिरहेको वडाध्यक्ष खाँको भनाई छ । सुविधाहरूकै सवालमा वडाभित्रका सडक नालाको तीब्र विस्तार, स्वास्थ्य सेवा सुविधा, शिक्षा लगायत क्षेत्रमा भएको परिवर्तनले जनताको जीवनस्तरको मापनको प्रमुख आधारहरू व्यवहारिकरुपमा लागु भइसकेका छन् । रोजगारी, व्यवसायीक अवधारणासँगै शिक्षा क्षेत्रमा पनि उत्तिकै फड्को मारेको छ । गरिब जनताका छोराछोरी स्कुल जानबाट बञ्चित हुनुपर्ने अवस्था आउन नदिन शिक्षामा पनि लगानी गरिएको उहाँको भनाई छ ।

‘हामीले चुनौतिहरुकै बाबजुत पनि नीतिगत तरिकाले कामहरु सञ्चालन गरिरहेका छौं । सबै राजनीतिक दलहरुसँग निरन्तर समन्वय गरेरै अघि बढेका छौं । कहिँकतै आलोचना र गुनासा पनि आउँछन्, त्यसलाई मैले रचनात्मक सुझावका रुपमा ग्रहण गर्ने गरेको छु । कतिपयलाई राम्रो काम गर्दाकै परिणामले विक्षिप्त बनाएको हुनसक्छ,’ वडाध्यक्ष खाँले भन्नुभयो, ‘आलोचना गर्नकै लागि आलोचना गर्नेहरूको प्रवृत्ति हिजोदेखि नै देख्दै आएका छौँ । हामी सहि दिशामा छौँ भने आलोचना गर्ने गरिरहन्छन् हामी काम निरन्तर गरिरहनेछौँ । वडा कार्यालयले विकास र समृद्धिले नै निकासको बाटो पहिल्याउने खाले अवधारणा र खाकाहरु कोरेको छ ।’

जनतासँगको सहकार्य गर्दै वडाको विकास गर्न सकिन्छ । दीर्घकालिन योजना समेतका धेरै बिषयहरूलाई प्राथामिकताका साथ लान सक्यौँ भने वडाको विकास गर्न सकिन्छ । यीमध्ये धेरै योजनाहरु अघि बढिसकेका छन् । ‘अब बाँकी रहेको दुई बर्षभित्र यस वडामा स्वास्थ्य, शिक्षा, सडक, खानेपानी, सरसफाई जस्ता विषयलाई प्राथमिकीकरण गरेर हामी अघि बढेका छौं,’ वडाध्यक्ष खाँले भन्नुभयो, ‘हामीले जनताका कामहरुलाई प्रभावकारी बनाइरहेका छौं । सरकारी सेवा प्रवाह र आम वडाबासीलाई सहज र सरलरुपमा सेवा दिइरहेका छौं । यसका लागि वडा कार्यपालिकाका सदस्यहरु कर्मचारीहरुको पूर्ण साथ र सहयोग छ ।”

पूर्व गृहमन्त्री एवम् नेकपा नेता जनार्दन शर्मा र प्रदेशसभा सदस्य कृष्णा केसीसँग वडाध्यक्ष जुमन खाँ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नं. ७ साबिक नेपालगन्ज नगरपालिका वडा नं ८ मा २०२३ सालमा सामान्य परिवारमा जन्मिनुभका जुमान खाँको जीवनमा कहिले पनि तडकभडक र भड्किलो बन्ने समयले प्रवेश पाएन । अल्पसङ्ख्यक तथा निम्न पारिवारिक अवस्थाले पनि उनको जीवन सामान्य नै रह्यो ।

“त्यतिबेलाको अवस्थामा शिक्षा हासिल गर्नै समस्या हुन्थ्यो, शैक्षिक संस्था अहिलेजस्तो खुलेका थिएनन् ।”, वडाध्यक्ष खाँले भन्नुभयो,“घरको आर्थिक अबस्था पनि कम्जोर थियो मुस्लिम समुदायमा मदरसा उर्दु र अरवी पढाई हुने चलन थियो,जमिनदारका छोरा छोरी मात्र विद्यालय जान पाउथे ।”

सानैमा चलाख स्वभावका जुमान आफ्नो उमेर समुहमा अरुभन्दा फरक र चलाख हुनुहुन्थ्यो । १६ बर्षको उमेरदेखि आयआर्जनको लागि बिडी बनाउने काम गर्नुभयो त्यहि बिडी बनाएर बिक्री गरेर बिहान–बेलुकाको छाक टथ्र्याे । ४ बर्षसम्म बिडीं बनाउनै काम गर्नुभएका जुमानले पछि बुवाले गर्दै आएको टाँगा चलाउने काम गर्नुभयो । ८ बर्ष टाँगा चलाएर बिताएको उहाँको भनाई छ ।

“टाँगा चलाउदा चलाउदै राजनीतिक यात्रा शुरु भयो त्यतिबेला टाँगा चलाउने मजदुर माथि त्येतिबेलाका शासक समान्तीले दमन गर्ने चर्को जरिवाना लाउने गर्थे त्यो बिषयमा बोल्ने बहस गर्ने मजदुरहरुलाई हरेक कुरामा बचाउने काम मैले गर्थे”, उहाँले भन्नुभयो,“त्यहि क्रममा दुई तीन पटक जेल जीवन बिताएको छु ।”

२०५० सालमा टे«ड युनियन काङ्ग्रेसको संगठीत सदस्यता लिनुभएका उहाँ २०५२ मा टाँगा युनियन सदस्यमा निर्वाचित हुनुभयो । दुई वर्ष सदस्य भएर काम गरेपश्चात अध्यक्षको दावी गर्दा ट्रेड युनियनका नेताहरु बिच विवाद भएपछि २०५५मा काङ्ग्रेस पार्टीबाटनै राजीनामा दिनुभयो ।

“त्यसबेला नेपालमा सशस्त्र द्वन्द्व चरम उत्कर्षमा पुगेको थियो । बाँकेको ग्रामीण क्षेत्रमा तत्कालिन नेकपा माओवादीले गाउँका युवाहरुलाई जनसेनामा आवद्ध गराइरहेको थियो ।” खाँले भन्नुभयो, “ २०५९ सालमा जनयुद्धमा होमिएर पार्टीको काममा खटिएर बाँकेको बिभिन क्षेत्रमा संगठन बिस्तार गर्नेकाम गरेँे ।”

४ बर्ष भूमिगत हुनुभएका खाँ शान्ति सम्झौतामा भएपछि बाँकेमै पार्टीका काममा सक्रिय हुनुभयो । पार्टीका काम सँगसँगै उहाँलाई राजनीतिमा केही गर्नुपर्छ भन्ने इच्छा जागेसँगै तत्कालिन नेकपा माओवादी जिल्ला कमिटी सदस्य, नगर कमिटी उपाध्यक्ष हँुदै मुस्लिम मुक्ति मोर्चाको केन्द्रीय सदस्य पदमा रहेर काम गरेको अनुभव र विश्वासलाई खाँले अहिले कर्मशिल वडाध्यक्षको रुपमा पहिचान बनाउन तल्लिन रहनुभएको छ ।


–प्रस्तुतिः चन्द्र बोहरा

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x