बाँके — राप्तीसोनारी गाउँपालिकामा साकार कृषि सहकारी संस्था लिमिटेडले आधुनिक सिल्की चामल मिल सञ्चालनमा ल्याएको छ। सोमबार एक विशेष कार्यक्रमका बीच धार्मिक विधिअनुसार जग्य(हवन गरी उक्त मिलको औपचारिक उद्घाटन गरिएको हो।

साकार कृषि सहकारीद्वारा सिल्की चामल मिल सञ्चालन

संस्थाका अध्यक्ष हुमाशंकर ओली, सञ्चालक समिति तथा व्यवस्थापन समूहको उपस्थितिमा धार्मिक अनुष्ठान गरी सुरु गरिएको सो उद्घाटन समारोहमा राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा वडा नं। ५ र ८ का वडाध्यक्षहरू, सहकारीका सदस्यहरू तथा स्थानीयवासी गरी करिब ५० जनाको सहभागिता रहेको थियो।

कुल ५५ लाख रुपैयाँको लागतमा निर्माण तथा जडान गरिएको उक्त सिल्की चामल मिलका लागि राप्तीसोनारी गाउँपालिकाले २० लाख रुपैयाँ अनुदान उपलब्ध गराएको हो भने बाँकी ३५ लाख रुपैयाँ साकार कृषि सहकारी संस्थाले लगानी गरेको छ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले राप्तीसोनारी क्षेत्रमा हालसम्म यस्तो आधुनिक प्रविधिको सेलर मिल नरहेको बताउनुभयो। मिल सञ्चालनसँगै अब यस क्षेत्रका किसानहरूले उत्पादन गरेको धान बिक्री गर्न सहज हुनुका साथै गुणस्तरीय सिल्की चामल कुटाउने सुविधा घरदैलोमै पाउने विश्वास उहाँले व्यक्त गर्नुभयो।

कार्यक्रममा बोल्दै सहकारीका अध्यक्ष हुमाशंकर ओलीले किसानहरूको आवश्यकतालाई ध्यानमा राख्दै आगामी दिनमा पिठो पिस्ने र तेल पेल्ने ९आटा तथा तेल मिल० आधुनिक मेसिनहरूसमेत थप गरी सेवा विस्तार गर्ने योजना रहेको जानकारी दिनुभयो।

मिल सञ्चालनमा आएसँगै स्थानीय किसानहरूले उत्पादन गरेको धानको उचित मूल्य पाउने र चामल प्रशोधनका लागि अन्यत्र धाउनुपर्ने बाध्यताको अन्त्य हुने अपेक्षा गरिएको साकार कृषि सहकारी संस्थाका मुख्य व्यवस्थापक जमानसिंह वलीले बताउनुभयो।