नेपालगञ्ज, बाँके — बडादसैँको रौनकसँगै बाँकेको नेपालगञ्जस्थित ऐतिहासिक रामलीला मैदानमा १५९औँ संस्करणको रामलीला सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको छ। डेढ शताब्दीभन्दा बढी समयदेखि निरन्तर चल्दै आएको यस ऐतिहासिक सांस्कृतिक उत्सवको मञ्चन आइतबारदेखि औपचारिक रूपमा सुरु हुने भएको छ।

आयोजक रामलीला सञ्चालन समितिले रामलीला मैदानमा पत्रकार सम्मेलनको आयोजना गर्दै यस वर्षको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी गराएको हो। मैदानमा विशाल टेण्ट, ट्रस, बत्ती जडान, नीलो पर्दा, रातो कार्पेट र व्यवस्थित दर्शकदीर्घा निर्माणको कार्य सम्पन्न भइसकेको छ।

डेढ शताब्दीभन्दा पुरानो ऐतिहासिक परम्परा
नेपालगञ्जको मुटुमा रहेको यो खुला मैदान ऐतिहासिक सांस्कृतिक धरोहरका रूपमा परिचित छ। स्थानीय समाजसेवीद्वय रामगोपाल टण्डन र भैलाल हलवाईलगायतका अग्रजहरूले सुरु गरेको यस रामलीलाको परम्परालाई त्यसयता निरन्तर समुदायस्तरकै सक्रिय सहभागितामा बचाइराखिएको छ। १५८ वर्षभन्दा लामो इतिहास बोकेको यो उत्सव नेपालगञ्जको मात्र नभई राष्ट्रिय पहिचानको एक विशिष्ट सांस्कृतिक खम्बा मानिन्छ।
वृन्दावनबाट कलाकारको टोली, दस दिनसम्म मञ्चन
परम्परागत रूपमा यस वर्ष पनि भारतको प्रसिद्ध वृन्दावन धामबाट विशेष कलाकारहरूको टोली नेपालगञ्ज आइपुगेको छ। उनीहरूले भगवान राम, सीता, लक्ष्मण, हनुमान र रावणको जीवनलीलाका विभिन्न घटनाक्रमलाई जीवन्त रूपमा मञ्चन गर्नेछन्।
समितिका अध्यक्ष सन्तोष कुमार कनोडियाका अनुसार १० दिनसम्म चल्ने यस मञ्चनको अन्तिम दिन विजयादशमीका अवसरमा रावण दहन गरिनेछ। नेपालतर्फबाट मात्र नभई सीमापारि भारतका विभिन्न क्षेत्रबाट समेत हजारौँको सङ्ख्यामा श्रद्धालु तथा भक्तजनहरू रामलीला अवलोकन गर्न नेपालगञ्ज आउने गरेका छन्।
तयारी पूरा भई भोलिबाटै रामलीला सुरु हुने भएपछि नेपालगञ्जवासीमा दसैँको उमङ्ग र उत्साह थप छाएको छ। आयोजकले नयाँ पुस्तालाई आफ्नो अमूल्य सांस्कृतिक सम्पदा र परम्पराबारे बुझाउन परिवारसहित रामलीला अवलोकन गर्न उपस्थित हुन सबैमा आग्रह गरेको छ।


प्रतिक्रिया तथा टिप्पणी
Facebook खाताबाट आफ्नो विचार राख्नुहोस्। सभ्य र विषयसँग सम्बन्धित टिप्पणी मात्र प्रकाशित गर्नुहोस्।