नेपालगञ्ज । सरकारले बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल विकास समितिको अध्यक्षमा भीमकान्त लामिछानेलाई नियुक्त गरेको छ ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको निर्णय अनुसार लामिछानेलाई अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त गरिएको हो ।

अस्पताल विकास समितिको नयाँ नेतृत्वसँगै पश्चिम नेपालकै प्रमुख क्यान्सर उपचार केन्द्रका रूपमा विकास भइरहेको अस्पतालको सेवा व्यवस्थापन, पूर्वाधार विस्तार र जनशक्ति व्यवस्थापनमा थप पहल गर्ने नवनियुक्त अध्यक्ष लामिछानेले बताउनुभयो । खजुराका स्थानीय लामिछानेले भेरी प्राविधिक शिक्षालयको जिम्मेवारीसमेत निर्वाह गरिसक्नु भएको छ ।
समितिको सदस्यमा मधु न्यौपाने र सञ्जय पाण्डे नियुक्त भएका छन् । नवनियुक्त अध्यक्ष तथा सदस्यहरूले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।