नेपालगन्ज — दिउँसोको टन्टलापुर घाम। नेपालगन्ज उपमहानगरपालिका–१० स्थित गणेशमान चोकमा सवारी साधनको बाक्लो आउजाउ थियो। भन्सारतर्फ जाने र आउने गाडीहरूको लामबीच प्रहरीको एउटा विशेष टोली सडक किनारमा तैनाथ भयो।

सामान्यतया प्रहरीले सडकमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वा बिलबुक माग्छ, वा मादक पदार्थ सेवन (मापेसे) जाँच्न ‘ब्रेथलाइजर’ मेसिन मुखमा हाल्न लगाउँछ। तर, यसपटक दृश्य फरक थियो। प्राविधिक टोलीको हातमा ‘ड्रग टेस्ट किट’ थियो, र उनीहरूको नजर केवल मदिरामा होइन, सडकमा गुडिरहेका सवारी चालकका रगत र पिसाबमा लुकेको अझ घातक ‘विषाक्त नशा’ खोज्दै थियो।

सडक दुर्घटना न्यूनीकरण गरी सुरक्षित यात्रा प्रवर्द्धन गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय बाँके, जिल्ला ट्राफिक प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण ब्युरो नेपालगन्जको संयुक्त टोली लुम्बिनी प्रदेश प्रहरी अस्पतालको सहकार्यमा सडकमा ओर्लिएको थियो।

४० चालकको परीक्षण, ५ जनामा पोजेटिभ
सडक किनारमा क्रमशः रोकिँदै गएका सार्वजनिक सवारी, ई-रिक्सा र मोटरसाइकलका चालक तथा सहचालकहरूलाई प्राविधिक टोलीले ‘ड्रग टेस्ट किट’ मार्फत परीक्षण गर्न थाल्यो। कुल ४० जनाको नमुना परीक्षण गर्दा नतिजा झस्क्याउने खालको आयो— पाँच जनामा लागुऔषध सेवन (लापसे) पोजेटिभ देखियो।

पोजेटिभ आउनेहरूमा तीन जना ई-रिक्सा चालक, एक जना मोटरसाइकल चालक र एक जना सवार यात्रु थिए। सर्वसाधारणको सुरक्षित यात्राको जिम्मा बोकेर स्टेयरिङ समात्ने चालक नै कडा लागुऔषधको नशामा लठ्ठिएर गाडी चलाइरहेका थिए भन्ने तथ्यले सडक सुरक्षाको भयावह दृश्य उजागर गरेको छ।

"सडक दुर्घटना न्यूनीकरण र यात्रुको सुरक्षित यात्रा हाम्रा लागि प्राथमिकताको विषय हो। लागुऔषध सेवन गरेर सवारी चलाउनु भनेको आफू मात्र नभई सडकमा हिँड्ने निर्दोष मानिसको जीवनलाई पनि जोखिममा पार्नु हो," जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक कनक शाही भन्नुहुन्छ, "परीक्षणमा पोजेटिभ आएकाहरूलाई कानुन बमोजिम कडा कारबाही प्रक्रिया अगाडि बढाइएको छ।"

जाँच्दाजाँदै भेटियो ब्राउनसुगर
चेकजाँच केवल किट परीक्षणमा मात्र सीमित रहेन। शंकास्पद चालक र यात्रुहरूको खानतलासी गर्दा प्रहरीले अर्को गम्भीर तथ्य फेला पार्यो— घातक लागुऔषध ब्राउनसुगर।

सवारीमा यात्रा गरिरहेका दुई जना पुरुषको साथबाट प्रहरीले ३ ग्राम ५७० मिलिग्राम ब्राउनसुगर बरामद गर्यो। लागुऔषधसहित पक्राउ परेका ती दुवै जनालाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा राखिएको छ।

सडकमा मृत्युको जोखिम र प्रहरीको सक्रियता
पछिल्लो समय सीमावर्ती क्षेत्रहरूमा लागुऔषधको ओसारपसार र दुर्व्यसनी मात्र नभई लागुऔषध सेवन गरेर सवारी साधन चलाउने प्रवृत्ति तीव्र रूपमा बढेको छ। यसले सडकमा यात्रा गर्ने हजारौँ यात्रु, पैदलयात्री र स्वयं चालकको जीवनलाई पलभरमै समाप्त पार्ने जोखिम निम्त्याएको छ।

अझ नेपालगन्ज जस्तो व्यस्त शहरमा ई-रिक्सा र साना सवारी साधनको संख्या उल्लेख्य छ। यस्ता सवारीका चालक नै नशामा धुत भएर स्टेयरिङ समात्दा सम्भावित दुर्घटनाको जोखिम झनै गुणा बढेर जान्छ।

प्रहरी निरीक्षक शाहीका अनुसार सार्वजनिक सवारी चालकहरूलाई जिम्मेवार र जवाफदेही बनाउन यस्ता छड्के र प्राविधिक परीक्षणहरूलाई अब निरन्तरता दिइनेछ।

सडकमा एउटा सानो असावधानी वा क्षणिक नशाले सिङ्गो परिवारको खुसी खोस्न सक्छ। नेपालगन्जमा चालिएको यो कदमले केवल पाँच जना दुर्व्यसनीलाई नियन्त्रणमा मात्र लिएको छैन, सडकमा सम्भावित ठूलो दुर्घटनाको जोखिमलाई पनि तत्कालका लागि टालेको छ। नियमित चेकजाँच र कडा कारबाहीले मात्र सडक यात्रालाई साँच्चिकै सुरक्षित बनाउन सकिने देखिन्छ।