नेपालगन्ज । राप्ती सोनारी गाउँपालिका सहकारी शाखाको आयोजनामा सहकारी समन्वय समितिको अर्धवार्षिक समीक्षा तथा समिति पुनर्गठन कार्यक्रम सम्पन्न भएको छ। पालिकाभित्र रहेका सहकारीहरूको वर्तमान अवस्था र आगामी कार्यदिशाबारे छलफल गर्न उक्त कार्यक्रम आयोजना गरिएको हो।

प्रविधिमार्फत प्रमुख अतिथिको सम्बोधन

कार्यक्रमको एक विशेष पक्ष, गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेलले भारतको दिल्लीबाट अनलाइनमार्फत कार्यक्रमको उद्घाटन तथा सम्बोधन गर्नुभएको थियो। सम्बोधनका क्रममा उहाँले सहकारीहरूलाई उत्पादनमुखी र सदस्यमैत्री बनाउनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रमका सहभागी र नेतृत्व

राप्ती सोनारी आर्थिक विकास समितिका संयोजक मीन कुमार थारुको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा  गाउँपालिका आर्थिक विकास समिति सदस्य केशव परियार, पशु सेवा शाखा प्रतिनिधि जय बहादुर कार्की, पशु सेवा शाखा प्रतिनिधि रेश्मा थारु लगायत गाउँपालिकामा सञ्चालित विभिन्न सहकारीका ३९ जना व्यवस्थापकहरू सहभागी रहनु भएको थियो । 

नयाँ समन्वय समिति गठन

समीक्षा कार्यक्रमले सहकारीहरूबीच आपसी समन्वय र सहकार्यलाई मजबुत बनाउन जमान सिंह वलीको संयोजकत्वमा १३ सदस्यीय राप्ती सोनारी सहकारी समन्वय समिति सर्वसम्मत रूपमा गठन गरेको छ।

समितको उपाध्यक्षमा गणेशबहादुर खत्री, सचिवमा झुपाकुमारी बिष्ट, कोषाध्यक्षमा भुपेन्द्र खड्का रहनुभएको छ । यसैगरी समितिको सदस्यहरुमा उमेश थापा, भीमबहादुर खत्री, शिवप्रसाद थारु, दिपा पुन, राजबहादुर थापा, चक्रपाणी खड्का, क्रमबहादुर थापा दिव्या गुरुङ र कन्छेद कुमार गुरुङ रहनु भएको छ ।

नयाँ समितिले पालिकाभित्रका सहकारीहरूको समस्या पहिचान गर्ने, सुशासन कायम गराउने र सहकारी अभियानलाई थप प्रभावकारी बनाउन भूमिका खेल्ने अपेक्षा गरिएको छ। कार्यक्रमका वक्ताहरूले सहकारीहरू गाउँघरको आर्थिक खम्बा भएकोले यिनीहरूको संस्थागत विकासका लागि समन्वय समितिले पुलको काम गर्ने धारणा व्यक्त गरेका थिए ।