नेपालगन्ज।फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा बाँके निर्वाचन क्षेत्र नं. १ मा मानव–वन्यजन्तु द्वन्द्व चुनावी मुद्दा बनेको छ । 

कोहलपुर नगरपालिका, राप्तीसोनारी गाउँपालिका र नरैनापुर गाउँपालिका समेटिएको यो निर्वाचन क्षेत्रमा बाँके राष्ट्रिय निकुञ्ज, सामुदायिक वन र राष्ट्रिय वनमा केही वर्षयता बाघ, चितुवा लगायत जङ्गली जनावरको विगविगी बढेको छ । 

दिनहुँजसो जङ्गली जनावर बस्तीमा पस्ने, हिंस्रक जनावरको आक्रमणबाट मानिसको मृत्यु हुनेलगायत घटना बढिरहेकाले मानव–वन्यजन्तु द्वन्द्व प्रभावकारी रूपमा व्यवस्थापन गर्ने उम्मेदवारलाई आफुले मतदान गर्ने राप्तीसोनारी गाउँपालिका –९ तल्लो महादेवा निवासी हेम चापागाईले बताउनुभयो ।

निकुञ्ज मध्यवर्ती क्षेत्रसहित आसपासका नागरिकले लगाएको खेती जङ्गली जनावरले खाएर स्याहर्न नपाउने र बाघको आक्रमणबाट पशु तथा मानवले ज्यान गुमाउनुपर्ने अवस्था रहेको उहाँको भनाई छ ।

चालु आर्थिक वर्षको पछिल्लो छ महिनामा मात्रै राप्तीसोनारी–९ गुरुवागाउँ नमुना टोल निवासी ४० वर्षीय इन्द्रबहादुर खत्री र राप्तीसोनारी गाउँपालिका–१ कुसुमस्थित सौरी निवासी मरिचमान भण्डारीले बाघको आक्रमणबाट ज्यान गुमाउनु भएको छ । यसवाहेक गोठमा बाँधेका र चराउन जङ्गल लगेका चौपाया माथिको आक्रमण असङ्ख्य रहेको राप्तीसोनारी गाउँपालिका–१का वडाध्यक्ष यमबहादुर खड्काले बताउनुभयो ।

पछिल्लो पटक निकुञ्ज मध्यवर्ती क्षेत्रमा बाघ लगायत जङ्गली जनावरको आक्रमणबाट अकालमै मान्छेको ज्यान जानुका साथै पशु र खेतीबालीमा ठूलो क्षति व्यहोर्दै आएकोले निकुञ्ज क्षेत्रमा तारवार सहितको वन्यजन्तु व्यवस्थापन गर्न जरुरी भएको उहाँको भनाई छ । 

पछिल्लो समय मानव र वन्यजन्तुबीचको द्वन्द्व व्यवस्थापन थप चुनौतीपूर्ण बन्दै गएको बताउँदै यसका लागि आफूले सरोकार भएका निकायसँग छलफल र समन्वय गरी समाधानको पहल गर्दै आएको बाँके क्षेत्र नं. १ मा नेकपा (एमाले)का तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार सूर्य ढकालले बताउनुभयो ।

यसअघि २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित ढकालले विगतमा वन्यजन्तुबाट जनतालाई सुरक्षित गर्न निकुञ्जक्षेत्रमा तारवार गर्ने योजना सुरुवात गरेको उल्लेख गर्नुभयो । 

“बाघ पालेर जनता मार्न सकिदैन, म यो विषयलाई पटक–पटक संसदमा उठाएको थिएँ”,ढकालले भन्नुभयो,“अहिले मेरो प्रमुख एजेण्डा वन्यजन्तु व्यवस्थापन रहेको छ । तारवारको कार्यक्रम सुरु भएको छ, विगतमा सुरु गरेको काम पूरा गर्ननै म पुनः उम्मेदवार बनेको छु ।”

नेपाली कांग्रेसबाट बाँके क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार नारायण गौडेलले पनि वन्यजन्तु व्यवस्थापन आफ्नो चुनावी मुद्दा भएको बताउनुभयो । उहाँले यसको व्यवस्थापनको लागि सरोकारवाला निकायसँग समन्वय गर्दै जनतालाई सुरक्षित तवरले जीवनयापनको वातावरण बनाउन आफूले ध्यान दिने उल्लेख गर्नुभयो । 

उम्मेदवारी मनोनयनसँगै बाँके क्षेत्र नं. १ का उम्मेदवारहरू अहिले मतदातासँग भेट्न घरदैलो गरिरहेका छन् । उम्मेदवारहरूले घरदैलोमा पुगेर आफ्ना एजेन्डा सुनाएका छन् भने विगतमा सरकारमा रहेका दलका उम्मेदवारहरूले आफ्नो निर्वाचन क्षेत्रमा भएका विकास निर्माणका काम देखाउँदै भोट माग्ने गरेका छन् ।

बाँके क्षेत्र नं. १ मा वि.सं. २०७९ को निर्वाचनमा नेकपा एमालेका ढकाल विजयी हुनुभएको थियो । यसपटक पनि एमालेबाट उम्मेदवार बन्नु भएका ढकाल पुनः विजयी हुन मतदाता रिझाउन लागि पर्नुभएको छ ।  

“ढकाल २०७९ को प्रतिनिधिसभा निर्वाचनमा नेपाली काँग्रेस र तत्कालीन माओवादी केन्द्रको गठबन्धन हुँदा पनि फराकिलो मतान्तरले विजयी हुनुभएको थियो”, एमाले जिल्ला सचिव बलराम भट्टराईले भन्नुभयो,“ढकाल विजयी भएपछि त्यहाँको वन्यजन्तु लगायतको समस्या राष्ट्रिय स्तरमै उठाएर समाधान गर्दै आएकोले जनताले यसपटक पनि विश्वास गर्नुहुनेछ ।”

वि.सं. २०७९ सालमा २५ हजार २६ मत ल्याएर एमाले उम्मेदवार ढकाल विजयी हुँदा उहाँका निकटतम प्रतिद्वन्द्वी रहनुभएका तत्कालीन नेकपा माओवादी केन्द्रका नेता महेश्वर गहतराजले १९ हजार ६ सय ३२ मत मात्रै प्राप्त गर्नु भएको थियो । काँग्रेसले सघाउँदा पनि गहतराज फराकिलो मतान्तरले पराजित हुनुभएको थियो । वि.सं. २०७९ को निर्वाचनमा प्रतिनिधिसभा बाँके क्षेत्र नं. १ मा समानुपातिक तर्फ नेकपा एमालेले क्षेत्र नं. १ मा सबैभन्दा बढी १६ हजार ८ सय ७६ मत प्राप्त गरेको थियो ।

यसपटक क्षेत्र नं. १ मा नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट नरेन्द्र प्रसाद पाण्डे उम्मेदवार रहनु भएको छ । तत्कालीन माओवादी केन्द्रबाट अलग भएर जनार्दन शर्माको नेतृत्वमा गठन भएको प्रगतिशिल लोकतान्त्रिक पार्टीबाट कृष्णा केसी पनि क्षेत्र नं. १ मा प्रतिनिधिसभा उम्मेदवार बन्नु भएको छ ।  

वि.सं. २०७९ मा तत्कालीन माओवादी केन्द्रका उम्मेदवार गहतराजलाई सघाएको नेपाली काँग्रेसले क्षेत्र नं. १ मा समानुपातिक तर्फ भने एमाले पछि दोस्रो मत प्राप्त गरेको थियो । काँग्रेसले वि.सं. २०७९ मा १४ हजार २ सय १८ मत समानुपातिक तर्फ प्राप्त गरेको थियो ।

नेपाली काँग्रेसले यसपटक जिल्ला सभापति नारायण गौडेललाई क्षेत्र नं. १ मा प्रतिनिधिसभाको उम्मेदवार बनाएको छ ।  राष्ट्रिय स्वतन्त्र पार्टीकाले सुरेश कुमार चौधरीलाई क्षेत्र नं. १ मा प्रतिनिधिसभाको उम्मेदवार बनाएको छ ।  चौधरीले नेकपा (एमाले)का ढकाल, कांग्रेसका गौडेल र नेपाली कम्युनिष्ट पार्टीका पाण्डेसँगै चुनावी प्रतिष्पर्धामा उत्रिनु भएको छ ।