by basanta on | 2025-11-24 07:44:40 Last Updated by basanta on2026-01-19 21:24:59
Share: Facebook | Twitter | Whatsapp | Linkedin Visits: 235
नेपालगन्ज। बाँकेको राप्तीसोनारी गाउँपालिका ६ टेपरीमा केन्द्रीय कार्यालय रहेको साकार कृषि सहकारी संस्थाले आफ्नो स्थापनाको १५औँ वार्षिकोत्सवको अवसरमा आज बिनौनामा एक दिने बृहत् स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न गरेको छ। स्वास्थ्य शिविरमा महिला तथा प्रसुति रोग विशेषज्ञ र जरनल फिजिसियनबाट सेवा प्रदान गरिएको थियो।
राप्ती सोनारी गाउँपालिका उपाध्यक्ष मनिषासिंह थारुको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाका अध्यक्ष हुमाशंकर ओलीले सभापतिको आसन ग्रहण गर्नुभएको थियो भने उपाध्यक्ष रति ओलीले स्वागत मन्तव्य राख्नुभएको थियो। १५औँ वार्षिक उत्सवको उपलक्ष्यमा केक काटेर कार्यक्रमको विधिवत् उद्घाटन गरिएको थियो।
प्रमुख अतिथि मनिषा सिंह थारुले साकार कृषि सहकारी संस्थाले अन्य संस्थाभन्दा फरक र सराहनीय ढंगले काम गरिरहेकोमा प्रशंसा व्यक्त गर्नुभयो। उहाँले स्वास्थ्य क्षेत्रमा समेत संस्थाले काम सुरु गरेकोमा खुसी व्यक्त गर्दै यो पहलले अस्पतालको पहुँचभन्दा टाढा रहेका पालिकाका जनतालाई ठूलो सुविधा पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले आगामी दिनहरूमा पनि यस्तै जनमुखी कार्यहरू गर्नका लागि संस्थालाई थप उत्साहित बनाउनुभएको थियो।
कार्यक्रममा संस्थाको विषय र कार्यक्रमको उद्देश्य बारेमा सहकारीका मुख्य व्यवस्थापक जमानसिंह ओलीले आफ्नो धारणा राख्नुभएको थियो।
साकार कृषि सहकारी संस्थाको आयोजना र रुहानी अस्पतालको प्राविधिक सहयोगमा सञ्चालित यस स्वास्थ्य शिविरबाट संस्थाका सदस्य तथा गैर-सदस्य गरी करिब २५० जनाले स्वास्थ्य परीक्षणका साथै निःशुल्क औषधि वितरण सेवा लिएका थिए।
बिहान ११ बजेदेखि सुरु भएको स्वास्थ्य शिविर साँझ ४ बजे सम्पन्न भएको थियो। शिविरमा रुहानी अस्पतालका डाइरेक्टर डाक्टर मुकेश झा र भेरी अस्पतालमा कार्यरत डाक्टर रिता श्रेष्ठले स्वास्थ्य परीक्षण गर्नुभएको थियो।
वार्षिकोत्सव तथा स्वास्थ्य शिविर कार्यक्रममा संस्थाका सदस्यहरूको बाक्लो उपस्थिति थियो। साथै, सञ्चालक समिति, उपसमिति, लेखा समितिका पदाधिकारी र कर्मचारीहरूको पनि सहभागिता रहेको थियो।
कार्यक्रम समापनमा अध्यक्ष हुमाशंकर ओलीले सम्पूर्ण डाक्टरहरूलाई तथा विशेष गरी रुहानी अस्पताल प्रति धन्यवाद व्यक्त गर्नुभएको थियो। उहाँले आगामी दिनहरूमा पनि यस्ता जनहितकारी कार्यक्रमहरूलाई निरन्तरता दिने र संस्थाका सदस्यहरूको हरसम्भव विकास, प्रगति र संस्थाको उन्नतिका लागि लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
Your advertisement space (300x250 banner).